खोटाङ, पुस ११ । नेकपा एमाले खोटाङको १३ औँ पूर्ण बैठकका निर्णय सार्वजनिक भएको छ । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा शनिबार बसेको बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
बैठकले पार्टीको यही पुस २३ गते हुने जिल्ला अधिवेशन लक्षित विभिन्न निर्णयहरू गरेको छ । बैठकले २३ औँ जिल्ला अधिवेशनको नारा ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔँ : विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले बनौँ’ भन्ने तय गरेको छ ।
जिल्ला अधिवेशन स्थल जिल्ला खेलकुद विकास समितको कभर्ड हल, माटिकोरे तोकेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएको छ भने मूल व्यवस्थापन समिति संयोजकको जिम्मा देवविक्रम राईलाई दिइएको छ ।
यस्तै सांगठानिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा कुमार आचार्य, आर्थिक संकलन उपसमिति संयोजकमा दीपनारायण रिजाल, आर्थिक प्रतिवेदन लेखन उपसमिति संयोजकमा उपिनकुमार राई, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा सुरेन्द्रकुमार राईलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी प्रचारप्रसार उपसमितिमा दिलचक्र राई, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा विणादेवी राई, अतिथि सत्कार उपसमितिमा दिलकुमारी राई, मञ्च तथा हल व्यवस्थापन उपसमितिमा चर्चबहादुर विश्वकर्मालाई संयोजकको जिम्मा दिइएको छ ।
त्यस्तै अनुगमन तथा मूल्याङ्कन उपसमितिमा सलमान खड्का, स्वास्थ्य व्यवस्थापन उपसमितिमा सम्मरबहादुर भुजेल, स्वयंसेवक परिचालन उप–समितिमा दिनेश राईलाई संयोजक तोकिएको छ ।
मान्युट लेखन उपसमितिमा जेनी राई र बहस नोट उपसमितिमा कमल ढकाललाई संयोजकको जिम्मा दिइएको छ ।
यस्तै बैठकले अधिवेशनमा विभिन्न क्षेत्रबाट सहभागी हुने प्रतिनिधिको संख्या पनि निर्धारण गरेको छ । वडा कमिटिबाट पहिलो २५ जना पार्टी सदस्यता बराबर कम्तीमा १ महिला र १ दलित अनिवार्य सहित ५ जना र त्यसपछिको पार्टी सदस्यताको हकमा प्रत्येक १० जना बराबर १ जना प्रतिनिधि थप गर्ने निर्णय बैठकले गरेको छ । यसरी थप हुने प्रत्येक तेस्रो १० जनामा १ जना महिला प्रतिनिधि अनिवार्य हुनुपर्नेछ ।
यस्तै गाउँपालिका कमिटीबाट कम्तीमा २ जना महिला सहित ५ जना र नगरपालिका कमिटीबाट कम्तीमा ३ जना महिला सहित ७ जना जिल्ला अधिवेशनको प्रतिनिधि हुनेछन् ।
जिल्ला सल्लाहकार परिषद र जिल्ला ज्येष्ठ कम्युनिष्ट मञ्चबाट कम्तीमा २ महिला सहित ५÷५ जना, खोटाङ काठमाडौं सम्पर्क मञ्चबाट कम्तीमा ३ महिला सहित ७ जना प्रतिनिधि हुनेछन् ।
अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यक सदस्यमध्ये प्रत्येक ५ जना बराबर १ जना र जिल्लामा क्रियाशील जनसंगठनहरू प्रत्येक बाट ३/३ जना प्रतिनिधिले अधिवेशनमा भाग लिन पाउने एमाले खोटाङले जनाएको छ ।
