Thursday, April 16News That Matters

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो ।

सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो ।

उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद रु. २० हजार, १५ हजार र १० हजारको साथमा प्रमाणपत्र तथा मौलिक सामूहिक नृत्यमा नगद रु. ३ हजार, २ हजार ५ सय र २ हजारको साथमा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पुस २७ गतेभित्र टिम दर्ता गरिसक्नु पर्नेछ भने मौलिक सामूहिक नृत्यमा जातीय परम्परा झल्किने पोशाक अनिवार्य गरिएको छ ।

भञ्ज्याङमा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष मेला लाग्दै आएको छ ।