
खोटाङ, पुस २१ । कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको झण्डै एक महिनापछि खोटाङमा एक जनामा संक्रमण पुष्टि भएको छ ।
गत मंसिर २३ गतेयता जिल्ला संक्रमणमुक्त बनेको थियो । लामो समय पश्चात जिल्लाको रावाबेसी गाउँपालिका–१ कुभिण्डेका एक १६ वर्षीय किशोरमा संक्रमण देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा उनमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका किशोर रावाबेसी–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । संक्रमण पुष्टि भएका किशोरले कोरोना विरुद्धको खोप नलगाएका र उनी अहिले होम आइसोलेसनमा बसेका कार्यालयले जनाएको छ ।
विद्यार्थीमा संक्रमण पुष्टि भए पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय भने सञ्चालन भइरहेको खार्पाका वडाध्यक्ष कालिदास पोखरेलले बताउनुभयो ।
