
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो ।
जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ । जन्तेढुंगा र केपिलासगढी गाउँपालिकामा भोली सम्म खोप अभियान सञ्चालन हुनेछ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आजबाट सुरु भएको अभियान २३ गते सम्म सञ्चालन हुने छ । जिल्लामा २० हजार मोर्डना खोप आएको थियो । सम्बन्धित स्थानीय तहले हरेक विद्यालयमै गएर खोप लगाएको हुँदा कोहि पनि नछुट्ने अनुमान गरिएको छ ।
यदि खोप लगाउन छुटेका र लगाउन मिल्ने उमेर समुहका जोकोहिले पुस २५ गते सम्ममा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख सिक्देलले अनुरोध गर्नुभएको छ ।
