Saturday, April 25News That Matters

खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

खोटाङ, पुस २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका महिलालाई सिलाइ कटाइसम्बन्धी सीप विकास तालिम दिन थालिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले पुस १२ गतेदेखि ८ दिनसम्म सञ्चालन गरेको उद्यमशीलता विकास तालिम लिएका १७ जना महिलालाई सिलाइ कटाइ सम्बन्धी तीन महिने आधारभूत तालिम दिन थालिएको हो । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिमको मंगलबार नगरपालिकाकी उपप्रमुख वीणादेवी राईले उद्घाटन गर्नुभएको हो ।

तालिम उद्घाटनपछि राईले तालिमले महिलाहरूमा सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी महिलालाई स्वरोजगार बनाउन नगरपालिकाका हरेक वडामा कार्यक्रम भइरहेको उहाँको भनाइ छ ।

वडा कार्यालय खाल्लेमा सञ्चालन भइरहेको तालिमका सहभागीलाई सबै उमेरका मानिसले लगाउने कपडा सिलाउने आधारभूत सीप सिकाइने घरेलु तथा साना उद्योग कार्यालय खोटाङका सूचना अधिकारी चित्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।