
खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङले भ्रष्टाचार र कालोबजारी विरुद्ध सशक्त आवाज उठाउने भएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला सचिव कुमार आचार्यले पार्टीको नवनिर्वाचित कमिटीले भ्रष्टाचार र कालोबजारी विरुद्ध आवाज बुलन्द पार्ने बताउनुभएको हो ।
कार्यक्रममा सचिव आचार्यले २३औँ जिल्ला अधिवेशनले सर्वसम्मत पारित गरेका प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नको एमाले केन्द्रीय सदस्य उषाकला राई र जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जवाफ दिनुभएको थियो ।
दिक्तेल माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हिजो सम्पन्न पार्टीको २३औँ जिल्ला अधिवेशनमा रामप्रसाद दंगालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, कुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, दीपनारायण रिजालले प्रस्तुत गर्नुभएको ‘खोटाङ जिल्लाका समृद्धिका आधारहरू’ सम्बन्धी विशेष दस्तावेज र उपिनकुमार राईले प्रस्तुत गर्नुभएको सुझावसहितको आर्थिक प्रतिवेदन (केही संशोधन) सर्वसम्मत पारित भएको थियो ।
यस्तै एमालेले जिल्ला अधिवेशनमार्फत पार्टी प्रवेश तथा घर फर्म अभियान सञ्चालन गर्ने, कुरीति, कुसंस्कृति र अन्धविश्वास विरुद्ध जनचेतना फैलाउने, संगठन व्यवस्थित गर्दै युवामैत्री र समावेशी पार्टी निर्माणमा जोड दिने लगायतका निर्णय गरेको छ ।
अधिवेशनले पार्टीको सचिवालय छनोटको कार्यलाई पूर्णता दिनका लागि १५ दिनभित्र जिल्ला कमिटीका पदाधिकारीहरूको बैठक बसेर सचिवालय टुंगो लगाउने, पार्टीको आसन्न प्रदेश अधिवेशनका लागि जिल्लाबाट सहभागी हुने प्रतिनिधि टुंगो लगाउने, सबै खाले प्रतिवेदनहरूलाई अभिलेखीकरण, दस्तावेजीकरण र स्मारिकाको रूपमा प्रकाशन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।
पार्टीको २३औँ जिल्ला अधिवेशनले पार्टी जिल्ला कमिटी अध्यक्षमा पुनः रामप्रसाद दंगाललाई सर्वसम्मत चयन गर्दै १ सय १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
