खोटाङ, माघ ६ । खोटाङमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । जिल्लमा आज एकैदिन २७ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको नियमित कोरोना अपडेटमा ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको २७ जनाको छुट्टै एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो ।
योसहित जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६१ पुगेको छ । संक्रमित सैब होम आइसोलेसनमा रहेका बताइएको छ ।
जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । प्रशासनले २५ जनाभन्दा धेरै भेला हुने सबै खालका भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ भने माघ ७ गतेदेखि सार्वजनिक निकायका सेवा लिन कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।
यसैबीच जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्थगित गरेको छ भने उता कार्यालय प्रमुखमा कोरोना पुष्टि भएपछि इलाका प्रशासन कार्यालय खोटाङबजारको सबै सेवा बन्द भएको छ ।
यता कोरोना संक्रमण बढेपछि त्रिधार्मिक स्थल हलेसी मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।
