खोटाङ,माघ ६ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा भीडभाड हुने सबै प्रकारका गतिविधिमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको हो ।
बैठकले गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कोभिड–१९ विरुद्धको खोप पूरा मात्रामा लगाएका २५ जना व्यक्ति मात्र सहभागी हुने गरी गर्न सकिने निर्णय गरेको छ । दोहोरी, नाचघर, हेल्थ क्लब, फुटसल, हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम नगर्ने नगराउने निर्णय भएको छ भने शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्न सकिनेछ ।
विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति मौका परीक्षालगायत सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ । यस्तै हलेसी मन्दिर लगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने/गराउने, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय भएको छ । खोप लगाएको कार्डको मोबाइलमा खिचिएको फोटो देखाएर पनि सेवा लिन सकिने प्रशासनले जनाएको छ ।
डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा १० जनाभन्दा बढी जम्मा हुन नहुने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक पटक साबुनपानीले हात धुने वा सेनिटाइज गनुपर्ने भएको छ भने जनस्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुनेछ ।
पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइमा नबढ्ने गरी एक पटकमा २५ जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यस्तै दर्शकसहितको खेलकुद कार्यकम हाललाई नगर्ने/नगराउने, धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पारनी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र यस्ता क्रियाकलाप सञ्चालन गर्ने बैठकको निर्णय छ ।
कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने निर्णय गरिएको छ भने राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरूले जनस्वास्थ्यका अन्य मापदण्डहरू पालना गरी भीडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने व्यवस्था मिलाउनुपर्ने भएको छ ।
सबै प्रकारका व्यवसायहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने, जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउन पाइने आदेशमा उल्लेख छ ।
सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, नियमित रूपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गनुपर्ने निर्णय भएको छ भने अक्सिजन सिलिन्डर खाली रहेको बुझिएकोले तत्काल अक्सिजन ग्याँस भर्ने काम स्वास्थ्य कार्यालयले गर्नुपर्नेछ ।
खोटाङ जिल्लाको १० वटै स्थानीय तहहरूका विभिन्न स्थानहरूमा समय–समयमा लाग्ने गरेका सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि कोभिड़–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी बन्द गर्ने/गराउने, कोरोनाविरुद्धको खोप जिल्लाव्यापी रूपमा लगाउनको लागि स्वास्थ्य कार्यालयले व्यवस्था मिलाउनुपर्ने प्रशासनको आदेशमा उल्लेख छ ।
जारी आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु-याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही र सजाय हुने प्रशासनले जनाएको छ ।
