
खोटाङ, ७ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङले कोरोना भाइरसबाट संक्रमित भएका स्वास्थ्यकर्मीलाई निःशुल्क औषधोपचारको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ सूूत्रीय मागसिहतको ज्ञापनपत्र पठाउँदै संघले महामारी नियन्त्रणमा अहरोत्र खटिएका स्वास्थ्यर्मीलाई निःशुल्क उपचारको माग गरेको हो ।
महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउने कार्यका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र त्यसमा पनि सरकारको मुख्य भूमिका रहने संघका जिल्ला कार्यसमिति कार्यवाहक अध्यक्ष मोहनकुमार राउतले बताउनुभयो । स्वास्थ्यर्मीबाट बढीभन्दा बढी सेवा लिने वातावरण निर्माणका लागि संघले सबै पक्षलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ ।
सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराउन र उपलब्ध नगराउने संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । यस्तै अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरूका लागि उचित किसिमको आइसोलेसनको व्यवस्था, स्वास्थ्यकर्मीहरू र अग्रस्थानमा खटिने कर्मचारीहरूको यथाशीघ्र बीमाको व्यवस्था, महामारीमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिइने व्यवस्था गर्न संघको ज्ञापनपत्रमा भनिएको छ ।
स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरूलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री र निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न, खोप केन्द्रहरूमा देखिएको भीडभाड नियन्त्रणको लागि पर्याप्त संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गर्न संघको माग छ । खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा तोडफोड र हातपात गर्नेहरूलाई तुरुन्तै कारबाहीसँगै पीडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्तिको व्यवस्था गर्न, करारमा नियुक्ति भई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्न माग गरिएको छ ।
खोप सेवा र कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक तालिमको व्यवस्था गर्न, संघ र प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि लगायतका नियमित कार्यहरूमा हुने अन्यायपूर्ण र अपारदर्शी कार्य तत्काल बन्द गर्न, महामारी र नियमित स्वास्थ्य उपचारका लागी अति आवश्यक औषधी उपकरणहरूको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नलगायतका माग संघले सरकार समक्ष राखेको छ । आफ्ना माग तत्काल सम्बोधन गर्ने दिशमा सरकार अघि नबढे चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेसमेत संघले चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझाउन संघका अध्यक्ष राउत, सदस्य तीर्थराज अचार्य, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष ध्रुवकुमार कार्कीलगायत जिल्ला प्रशासन पुग्नुभएको थियो ।
यस्तो छ स्वास्थ्यकर्मी संघले सरकारलाई बुझाएको ज्ञापनपत्र-

