
खोटाङ, माघ २३ । खोटाङमा एकैदिन ३१ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । केही समयअघि संक्रमण पुुष्टि भई होम आइसोलेसनमा बसेका उनीहरू संक्रमणमुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
एकैदिन तेस्रो लहरयताकै धेरै संक्रमित निको भएको जिल्लामा आज ७ जना नयाँ बिरामी थपिएका छन् । जिल्लाको विभिन्न स्थानमा ४० जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा संक्रमण देखा परेको हो ।
जिल्लामा केही दिनयता थपिनेभन्दा संक्रमित निको हुने दर निरन्तर बढेको छ । जसकारण सक्रिय संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो दिनसम्म २ सय २८ जना सक्रिय संक्रमित रहेको जिल्लामा आज थप भएकासहित यो संख्या २ सय ४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा अहिलेसम्म कुल जनसंख्याको ६६ दशमलव ५५ प्रतिशत अर्थात् १ लाख १६ हजार ६ सय ८९ जनाले पहिलो र ३८ दशमलव २२ प्रतिशत अर्थात् ६७ हजार २९ जनाले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जिल्लामा कोरोना संक्रमितको उपचारार्थ ७ अस्पताल, २ सय ३४ वटा बेड, एउटा भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २ सय वटा अक्सिजन सिलिन्डर र ३७ वटा अक्सिजन कन्सनट्रेटर तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
