
खोटाङ, माघ २७ । तेस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि बन्द गरिएको प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी मन्दिर फागुन १ गतेदेखि खुल्ने भएको छ । माघ ७ गतेदेखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको मन्दिर फागुन १ गतेदेखि खुलाउने निर्णय भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो ।
जिल्लामा तेस्रो लहरमा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बन्द गरिएको थियो । दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने हुँदै आएको थियो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो ।
धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन् ।
