Friday, April 17News That Matters

खोटाङमा तीन जनाले गरे व्यवसायिक रुपमा मौरी पालन सुरु


राजकुमार भट्टराई (सरगम)
खोटाङ, फागुन २ । नेपालका बिभिन्न ठाउँमा मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुडा आदिमा राखेर प्राचीन समय देखिनै पालन गर्ने गरेको बताइन्छ । पछिल्लो समय आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फेर्म घारको आविष्कार भएसँगै यसको प्रयोग हुँदै आएको छ । केहि व्यक्तिले पुरानै घारमा अझै पनि मौरी पालन गरेको गाउँघरमा प्रसस्तै देख्न सकिन्छ । तर नेपालमा व्यवसायिक रुपमा मौरी पालन गरिएको भने कमै मात्रामा पाइन्छ ।

यसै शिलशिलामा खोटाङका तीन जनाले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका छन । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ धोद्रे राई टोलका जीवन राई, हर्क बहादुर सुनुवार र रामबहादुर राईले व्यवसायिक रुपमा मौरी पालन सुरु गरेका हुन ।

ऐसेलुखर्क कृषी समुह मौरी ब्लक नामक कृषी फर्म दर्ता गरेर मौरी पालन सुरु गर्नुभएका उहाँहरुसँग अहिले १० घार मौरी रहेका छन । खरित गरेर ६० घार लगायपनि सुरुवाती दिनमा प्राविधिक ज्ञानको कमीले ३० घार मौरी उडेर गएको र २० घार मोरी लगातारको बर्षाले मर्दा अहिले १० घार मात्र बाकी रहेको र्हक बहादुर सुनुवारले बताउनुभयो ।

केहि समय भित्रमा ७ सय ५० घार मौरी लगाउने योजना सहित घारहरु तयार गरेर राखेको सुनुवारको भनाइ छ । यतिबेला धमाधम मौरी खरित कार्य भइरहेको छ । केहि मौरी रामेछाप र केहि भोजपुरबाट खरित गरेर ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।

मौरी लगाउन तयारी गरिएको घार

एक नम्बर प्रदेश सरकारको ५० प्रतिशत अनुदान स्वरुप रु २५ लाख र उहाँहरुको रु २५ लाख गरी जम्मा ५० लाख लगानीमा मौरी पालन सुरु गरिएको हो । अहिलेसम्म केहि मह निकालेर बिक्री समेत गरिसकेको उहाँले सुनाउनु भयो ।

मौरीको मह मंसिरमा र बैशाखमा गरी वर्षमा दुई पटक निकाल्ने गरिन्छ । जसमा एक घारबाट ६ सय एमएलको बोतलमा ५ बोतल सम्म मह उत्पादन हुन्छ भने एक बोतल मह रु १५ सयले बिक्री हुनेगरेको छ । जसअनुसार ७ सय ५० सय घार मौरी लगाउदा एक वर्षमा रु ५० लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो ।

मौरीले बिभिन्न फूलको रसबाट मह उत्पादन गर्ने भएको हुँदा घार वरीपरी तोरी लगाइएको छ । पानी परेको समयमा मौरी बाहिर चर्न जान नसक्ने भएकाले लामो समय लगातार वर्षा हुँदा सबै भन्दा धेरै समस्या हुने उहाँले बताउनुभयो । मह बिक्रीको लागि बजारको समस्या भने नरहेको उहाँहरुको भनाइ छ ।