
खोटाङ, फागुन १ । आज २७ औँ जनयुद्ध दिवस खोटाङमा दीप प्रज्वलन गरेर मनाइएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारी खोटाङले जिल्ला सदरमुकाम स्थीत त्रिवेणिचोकमा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो ।
माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ता एवं विद्यार्थी संगठनको उपस्थीतीमा “अनेरास्ववियू क्रान्तिकारी– जिन्दावाद”, “वीर शहिदहरु –अमर रहुन”, “नेकपा माओवादी केन्द्र –जिन्दावाद” लगायतका नारा लगाउदै आज साँझ ७ः३० बजे दीप प्रज्वलन गरेका हुन ।
१० वर्षे जनयुद्धलाई र त्यसको जगमा हासिल उपलब्धिलाई कसैले अवमूल्यन गरे त्यसको प्रतिकार गर्ने अनेरास्ववियु क्रान्तीकारी विद्यार्थी संगठन खोटाङका संयोजक एवं प्रदेश नम्बर एकका सचिव डिआर खड्काले बताउनुभयो । साथै जनता र राष्ट्रियताको रक्षाको पहरेदार माओवादीनै रहेको पनि उहाँको भनाइ छ ।
माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ । माओवादीले २०५२ सालमा आजकै दिनदेखि सशस्त्र सङ्घर्ष थालेको थियो । त्यसको १० वर्षपछि शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा आएको हो ।

