
खोटाङ, मफागुन ३ । खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपीङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले आज संयुक्त रुपामा उद्घाटन गरेर पार्क सञ्चालनमा ल्याएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क निर्माण भएको हो । पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले पार्क निर्माण गरेको हो । २०७८ बैशाख २६ गते भएको सम्झौता अनुसार २०७९ बैशाख २६ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीले सम्झौता भन्दा ३ महिना अघिनै संरचना निर्माण गरेर नगरपालिकालाइ बुझाएको हो । सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेनपार्क गत वर्ष जेठ ५ गते कोरोना कहरकै बीचमा नगर प्रमुख रिजालले शिलान्यास गर्नुभएको थियो ।
सपीङ कम्प्लेक्सका लागि बनाईएको भवनको पहिलो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेन्ट हल र स्टलका लागि ५ वटा कोठा रहेको छ । चिल्ड्रेन पार्कमा बालबालिकाका लागि विधुतीय पीङ, सामान्य पीङ, घोडा सवार, कोलम्बस, पौडी पोखरी लगायतका संरचना निर्माण भएको छ ।
सपिङ कम्प्लेक्सको केहि सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज संकलन केन्द्र लगायतका स्टल राखेर अन्य कोठा व्यवसायीक प्रयोजनकै लागि भाडामा लगाउने नगरको योजना छ । चिल्ड्रेन पार्कमा न्युनतम शुल्क लिएर बालबालिकालाई मनोरञ्जन दिलाइने नगरपालिकाले जनाएको छ ।
सपिङ कम्प्लेक्सको एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सकिने नगरप्रमुख रिजालले बताउनुभयो । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई ५ वर्षका लागि भाडामादिन नगरपालिकाले सोमबार न्यूनतम २ लाख ९७ हजारको ठेक्का आव्हान गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २०७७ साल भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरकोे निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क छनौट भएको हो । सो संरचना नगरपालिकाको मातहतमा रहने छ ।
आम्दानीको स्रोत, पर्यटकीय गन्तव्य
दिक्तलेमा निर्माण सम्पन्न पश्चात सञ्चालनमा आएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत बन्नेमा नगरपालिका ढुक्क छ । नगरपालिकाको योजना आनुसार सपिङ कम्प्लेक्सलाई भाडामा लगाइने छ । चिल्ड्रेन पार्कमा मनोरञ्जन लिन आउनेबाट न्युनतम शुल्क लिएर बालबालिकालाई मनोरञ्जन दिलाउने नगरपालिकाले जनाएको छ । जसबाट बार्षिक रुपमा ५० लाख माथी आम्दानी हुने नगप्रमुख रिजालले बताउनुभयो । यसरी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीको स्रोत बढाउने छ ।

यस्तै दिक्तेलमा निर्माण भएर सञ्चालनमा आएको सो संरचना जिल्लाकै एक मात्र हो । यस्तो संरचना प्राय शहरमा मात्र निर्माण भएका छन् । तसर्थ रत्नपार्क सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क जिल्लाको पर्यटकीय गन्तव्य बन्न सक्छ । चिल्ड्रेन पार्कमा बालबालिकाकालागि मनोरञ्जनका संरचना निर्माणसँगै ९ प्रकारका खेल पनि खेल्न सकिने उपप्रमुख बिणदेवी राइले बताउनुभयो । सबै प्रकारका घरायसी दैनिक उपभोग्य सामानहरु एकै ठाँउमा पाउने र बालबालिकाका लागि मनोरञ्जन पनि हुने भएका कारण रत्नपार्क सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क जिल्लाकै एक पर्यटकीय गन्तव्य स्थल बन्ने उपप्रमुख राईको विश्वास छ ।


