
खोटाङ, फागुन ५ । पाठेघर खसेर एवं पाठेघरमा क्यान्सर भएर कठिनाइ झेलिरहेका महिलालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको निशुल्क शिविरबाट २ सय ७७ जनाले सेवा लिएका छन् । नगरपालिकाले नगर भित्रका चार स्वास्थ्य चौकीमा फागुन १,२,३ र ४ गते शिविर सञ्चालन गरेको थियो ।
फागुन १ गते वडा नम्बर १ बाहुनिडाँडामा सञ्चालन भएको शिविरबाट ७५ जनाले, २ गते वडा नम्बर ६ स्थीत मंगलटार स्वाथ्य चौकीबाट ५५ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । यस्तै ३ गते वडा नम्बर ९ स्थीत सल्ले स्वास्थ्य चौकीमा भएको शिविरबाट ९० जनाले र ४ गते वडा नम्बर १० अर्खौले स्थीत सहरी स्वास्थ्य केन्द्र नबलपुरमा भएको शिविरबाट ५७. जना गरी चार दिन सञ्चालन भएको शिविरबाट जम्मा २ सय ७७ जना महिलाले सेवा लिएको उहाँको भनाइ छ ।
पाठेघर खसेका र पाठेघरमा क्यान्सर भएका महिलाको पहिचान गर्ने र उपचार सेवा उपलव्ध गराउने शिविरको मुख्य उद्धेश्य रहेको मेयर इवन राईले बताउनुभयो ।
शिविरमा सहभागी महिलाहरुको पाठेघरको भिआइए प्रविधिबाट परिक्षण गरिएकोछ । शिविरमा पाठेघरमा सामान्य समस्या देखिएका केहि महिलाहरुलाई रिङ प्रेसरी राखेर उपचार गरिएको छ । चार जना महिलाको भने पाठेघरमा क्यान्सर भएको पाइएको छ । चार जना मध्ये एक जना बृद्ध महिला रहनुभएको छ । उहाँमा दिर्घरोग समेत रहेका कारण शल्यक्रिय गर्न नमिल्ने स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताउनुभयो । अन्य तीन जना महिलालाई नेपाल सरकारले निशुल्क शल्यक्रिय गर्ने अस्पतालमा सवारी साधन भाडा बापत रु ५ हजार नगरपालिकाले दिएर उपचारका लागि पठाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
यस्तै सोहि शिविरमा लामो समयको जन्मान्तर गर्न चाहानेकालागि नगरपालिकाले ५ वर्ष देखि १२ वर्षसम्म काम गर्ने अस्थायी साधन निशुल्क प्रदान गरेको छ ।
महिलाहरुको पाठेघर सम्बन्धि समस्या पहिचान र उपचारका लागि नगरपालिकाले २ जना तालिम प्राप्त स्वास्थ्यकर्मी उत्पादन गरेको छ भने एक जनालाई तालिम लिन पठाएको छ । शिविरमा छुटेका महिलाले च्यास्मीटार स्वास्थ्य चौकी, हलेसी स्वाथ्य चौकी र धितुङ स्वास्थ्य चौकीबाट जुनसुकै समयमा यस प्रकारको सेवा लिन सक्ने नगर स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले जानकारी दिनुभयो ।
महिलालाई प्राकृतिक जिम्मेवारी बढी रहेको कारण शारीरिक रुपमा पनि अप्ठ्यारो छ । जसकारण महिलाका त्यस्ता समस्याको समाधानका लागि निशुल्क शिविर सञ्चालन गरिएको नगर उप–प्रमुख बिमला राईले बताउनुभयो ।
