
खोटाङ, फागुन ११ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह गरिएको छ । नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला कमिटीले सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा सडक जनमत संग्रह गरेको हो ।
संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता पारश विराटले जानकारी दिनुभयो ।
मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत दिएका थिए भने १ मत बदर भएको थियो । संग्रह गरिएको जनमतसहित जिल्ला प्रशासन कार्यालमार्फत भोलि सरकारलाई ज्ञापनपत्र पठाइने अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताउनुभयो ।
एमसीसीका कतिपय बुँदा राष्ट्रहित विपरीत रहेकाले बिना संशोधन पारित भए आफूहरू सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाइ छ ।
