
खोटाङ, फागुन २५ । हलेसी तुवाचुङ नगरपालिकाका बिभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटक देखाइने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोग तथा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक फागुन २६ गते बिहिबारबाट बिभिन्न ठाउँमा देखाइने भएको हो ।
लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने असर, घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असरसँगै समाजमा पर्ने असर सम्बन्धि चेतना सडक नाटकमा देखाइने आयोजकले जनाएको छ ।
२६ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय अर्खौलेमा बिहान १० बजे र सोही दिन दिउँसो २ बजे दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा नाटक प्रस्तुत हुनेछ । यस्तै २७ गते शुक्रबार बिहान १० बजे च्यास्मिटार मावि च्यास्मिटारमा र दिउँसो २ बजे महेन्द्रद्धोय मावि हलेसीमा प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ ।
सडक नाटकमा पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा ज्योति राई, जेबि डि.सि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।
