Monday, September 14News That Matters

खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

फाइल तस्वीर

खोटाङ, फागुन २५ । खोटाङमा ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई ३२ किलो ४ सय ८५ ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

सोमबार दिउँसो १ बजे लागुऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बतासेघाटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बतासेघाट नजिक रहेको सुइटेखोला बगर किनारमा निलो प्लाष्टिकको त्रिपाल ओछ्याई सो त्रिपालमाथि बोराका पोकाहरू राखेर बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध पक्राउ परेकै दिन जिल्ला अदालत खोटाङबाट लागुऔषध कसुरमा ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।