Thursday, April 16News That Matters

वराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण

फाइल तस्वीर ।

खोटाङ, फागुन २५ । खोटाङको वराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण गरेको छ । गाउँपालिकाभरिका करिब २६ सय किसानलाई उन्नत जातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिनुभयो । लेकाली क्षेत्रका किसानलाई मनकामना–३ र बेँसी क्षेत्रका किसानलाई बायोसिड हाइब्रिड जातको मकैको ४५ सय केजी बिउ वितरण गरिएको हो ।

खेती गर्ने जमिनको परिमाण हेरेर बढी खेती गर्नेलाई २ केजी र कम खेती गर्नेलाई १ केजीका दरले बिउ वितरण गरिएको रेग्मीले बताउनुभयो । बिउ वितरण कार्यमा संघीय सरकारको सशर्त अनुदान र गाउँपालिका आफैँले छुट्याएको बजेट गरी ११ लाख रकम खर्च गरिएको छ ।

रेग्मीका अनुसार गाउँपालिकाको वडा नं. १ वराहपोखरीका केही किसानलाई बिउ वितरण गर्न बाँकी छ भने अन्य वडाका सबै किसानलाई वितरण गरिसकिएको छ । आउँदो आइतबारबाट किसानलाई विषादी वितरण गर्ने तयारी रहेको पनि रेग्मीले जानकारी दिनुभयो ।