
खोटाङ, चैत ०१ । खोटाङको साकेला गाउँपालिका–५ चुम्लुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किँदा जडिमान राईको घर जलेर नष्ट भएको स्थानीय खियामा राईले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो १ः३० बजेको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किएको थियो । आगलागी भएको केही समयपछि स्थानीयले थाहा पाएर बच्चालाई जोगाए पनि फुसले छाएको बाँस र माटोबाट बनेको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घर जल्दा घरभित्र रहेको एक तोला सुन, ५० हजार नगद, अन्नपात, लत्ताकपडा र भाडावर्तन जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।
