खोटाङ, चैत ०१ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले चैत ५ गतेभित्र विद्युत महसुल बुझाइसक्न ग्राहकलाई ताकेता गरेको छ । लामो समयसम्म महसुल नबुझाएका ग्राहकलाई चैत ५ गतेभित्र अनलाइन मार्फत तथा कार्यालयमै गई विद्युत महसुल बुझाइसक्न केन्द्रले समयसीमा तोकेको हो । तोकिएको मितिमा पनि बक्यौता रकम नबुझाए सम्बन्धित ग्राहकको लाइन काटिने विद्युुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । सरकारी कार्यालय, स्थानीय निकाय, स्वास्थ्य चौकी, खानेपानी लिफ्टिङ र गार्हस्थ ग्राहकले विद्युत उपभोग गरे बापत बुझाउनुपर्ने महसुल लामो समयदेखि नतिरेको उहाँको भनाइ छ । चैत ५ गतेभित्र पनि महसुल नबुझाए लाइन काट्ने प्राविधिक टोली परिचालन गरेर महसुल बुझाउन बाँकी ग्राहकको लाइन काट्न सुरु गरिने केन्द्रले चेतावनी दिएको छ ।
५ हजार रुपैयाँ बढी महसुल तिर्न बाँकी रहेका र महसुल नतिरेको २ महिना नाघेका ग्राहकको प्राधिकरणले विद्युत लाइन काट्दै आएको छ ।
