खोटाङ, चैत्र ०६ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १५ दिनको अवधिमा ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको छ । फागुन १६ देखि ३० गतेसम्मको अवधिमा उक्त रकमको भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार उक्त अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ३ लाख ३३ हजार ३ सय ५०, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय ५, बसाहाथान दान पेटिकाबाट ५० हजार ९ सय ७५ र गणेश मन्दिरको दान पेटिकाबाट १३ हजार ३ सय आम्दानी भएको छ । यस्तै ढ्याक्के सटहीबाट ४ हजार रुपैयाँ जम्मा भएको सूचना केन्द्रले जनाएको छ ।
आम्दानीको रकमबाट बिजुली, पानी, शिवरात्री मेला व्यवस्थापनमा खटाइएका अस्थायी कर्मचारीको तलब भत्ता, शिव–पार्वती थानमा गहना पहि-याउँदा, नौमती बाजा बजाएको पारिश्रमिक, शान्ति सुरक्षा खर्च, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च र विभिन्न आर्थिक सहयोग गरी १ लाख ३४ हजार ९ सय ४८ रुपैयाँ खर्च भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ । बाँकी रहेको रकम ३ लाख ८ हजार २ सय ८२ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको बैंक खातामा मौज्दात रहेको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो ।
यस्तै उक्त अवधिमा दर्शनार्थी तथा पर्यटकले भा.रु. ३ हजार ७ सय, अमेरिकन डलर ६, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएका पनि सूचना केन्द्रले जनाएको छ ।
हलेसी मन्दिर हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । छुट्टै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यो मन्दिर खोटाङको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । यस मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।देशका विभिन्न स्थान र बाह्य राष्ट्रबाट समेत मन्दिरको दर्शन गर्न मानिसहरू आउने गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले हलेसीमा वार्षिक ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित दीर्घकालीन वृहत्तर गुरुयोजना निर्माण गरेर काम भइरहेको बताउनुभयो ।
