Thursday, April 16News That Matters

प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै


खोटाङ, चैत्र ६ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै हुनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
मूल्य अभिवृद्धि करसहित रु. ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो ।

निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा निर्माण गरिएको पक्की पुल यसअघि नै सञ्चालनमा आइसेकेको छ । पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।