Thursday, April 16News That Matters

खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने

फाइल तस्वीर ।

खोटाङ, चैत्र ०६ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा पनि म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आजदेखि म्यादी प्रहरीका लागि आवेदन लिन सुरु गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहका अनुसार आजदेखि चैत ११ गतेसम्म आवेदन लिइनेछ । आवेदन खुलेको पहिलो दिन नै आवेदन दिनेको भीड लागेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त, सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा १ प्रति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र ५ प्रति पासपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने प्रहरी निरीक्षक शाहले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ ।

निर्वाचनका लागि जिल्लामा ११ सय ४७ जना म्यादी प्रहरी छनोट गरिनेछ । चैत ११ सम्म आवेदन दिनेहरूले जिल्ला प्रहरी कार्यालयमा १३ गते सम्पर्क गर्नुपर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।

छनोट भएका म्यादी प्रहरीहरूलाई २८ गतेदेखि तालिम दिएर चुनावका लागि ४० दिन काममा लगाइने छ । त्यसका लागि मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत १ हजार र बीमा सुविधाको पनि व्यवस्था गरिएको छ ।