
खोटाङ, चैत ९ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने निश्चित भएसँगै खोटाङका राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि केन्द्रिय स्तरका नेताहरु जिल्लामा ल्याउनेदेखि राजनीतिक दलहरु गाउँ केन्द्रितमा सक्रिय भएका हुन् ।
कांग्रेसले देशैभर संगठन सुदृढीकरण अभियान चलाइरहेको छ । जसअन्तरगत कांग्रेसले खोटाङमा टोल समिति गठनलाई तिव्रता दिदै जिल्लाका नेता कार्यकर्ता गाउँ केन्द्रित भएका छन् । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेससँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) लगायतका पार्टीका नेता कार्यकर्ता पनि गाउँ टोलमा भेटिन थालेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबाट प्रदेश एकका मन्त्री भएका रामकुमार राई र राजन राई नेता कार्यकर्तासँग गाउँमा देखिन्छन । नेपाल सरकारका प्रधानमन्त्री समेत रहनु भएका नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा केहि दिन अगाडि जिल्लाको दिक्तेल रुपाकोट मझुवागठी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्न आउनु भएको थियो । जिल्ला आउनुभएका प्रधानमन्त्री देवालाई कांग्रेसका नेताहरुले विकासका लागि माग पत्र समेत पेस गरे । यसलाई निर्वाचन केन्द्रित भनेर नकार्न सकिन्न । यस्तै नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि चैत १९ गते जिल्ला आउने कार्यक्रम रहेको एमाले खोटाङले जनाएको छ । स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न एमाले खोटाङले अध्यक्षलाई जिल्लामा ल्याएर अन्य राजनीतिक दलका नेता कार्यकर्ता तान्न लागेको प्रष्ट छ ।
खोटाङ काँग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईका अनुसार अहिले जिल्लाका सबै तहमा संगठन सुदृढीकरणको अभियान सञ्चालन भइरहेको छ । जिल्लाको ७९ वडामै कांग्रेसले प्रतिनिधि खटाएको छ भने चुनावी घोषणापत्र तयार गर्न समिति समेत खटाइसकेको सभापति राईले बताउनुभयो ।
यस्तै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पनि जिल्लाका सबै स्थानीय तहमा पालिका इञ्चार्ज समेत तोकेर टोल कमिटि गठन, कार्यकर्ता भेटघाट र प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेका छन् । टोल कमिटि गठनमा व्यक्ति तानतान समेत भएको देखिन्छ । एउटै व्यक्ति दुईटा राजनीतिक दलको टोल कमिटिमा रहेको समेत पाइएको छ ।
वि.स. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा जिल्लामा सबै भन्दा ठुलो राजनीतिक दल नेकपा एमाले रहेको छ । दुई नरपालिका सहित दश वटा स्थानीय तह रहेको जिल्लामा एमालेका एक नगरपालिका र चार गाउँपालिकाका प्रमुख र सात जना उप–प्रमुख छन् । नेपाली कांग्रेसका एक नगरपालिका र तीन पालिका प्रमुख र तीन जना उप–प्रमुख छन् । माओवादी केन्द्रका एक पालिका प्रमुख छन् । अघिल्लो स्थानीय तहको चुनावमा सबै भन्दा ठुलो पार्टी बनेको एमालाई फुटले केही असर गरेको नेताहरु बताउछन् ।




