Thursday, April 16News That Matters

दिक्तेल रुपाकोट मझुवागढीका आठ वटा माविमा बाल क्लब गठन

मनोकामना जनकल्याण मावि, निर्मलीडाँडामा बाल क्लब गठनपछि । तस्वीर : घनश्याम ढकाल

खोटाङ, चैत ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ वटा माध्यमिक विद्यालयमा विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका समस्या विद्यार्थी आफैँले पहिचान र समाधान गर्न सकून् भन्ने उद्देश्यसहित नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बाल क्लब गठन गरिएको हो ।

चैत ६ गतेबाट सुरु भएको क्लब गठन अभियान अन्तर्गत हालसम्म नगरपालिकाको १५ मध्ये ७ वटा वडाका माध्यमिक विद्यालयमा क्लब गठन सम्पन्न भएको नगरस्तरीय युवा सञ्जालका अध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ नारासहित सञ्चालन भइरहेको बाल क्लब गठन अभिायनको नेतृत्व ढकालले नै गरिरहनुभएको छ । नगरपालिकामा रहेका २१ वटा माध्यमिक विद्यालयमध्ये हालसम्म आठ वटा विद्यालयमा विद्यालयस्तरीय क्लब गठन भइसेकेको हो ।

नगरपालिकाभिरका माध्यमिक विद्यालयमा बाल क्लब गठन गर्ने वार्षिक कार्यक्रम अन्तर्गत हालसम्म वडा नं. २, ४, ६, ७, ८ र ९ मा बाल क्लब गठन भएको छ । वडा नं. ९ का दुई वटा र अन्य वडाका एकेक वटा गरी आठ वटा माध्यमिक तहका विद्यालयमा विद्यालयस्तरीय बाल क्लब गठन गरिएको ढकालले बताउनुभयो ।

नगरपालिकाले हरेक वर्ष विद्यालयमा बाल क्लब गठन गर्दै आएको छ । यसरी गठन भएका बाल क्लबहरूले सम्बन्धित विद्यालय र नगरपालिकासँग समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्नेछन् । ढकालका अनुसार चैतको दोस्रो सातासम्म सबै वडाका माध्यमिक विद्यालयमा बाल क्लब गठन सकेर नगरस्तरीय बाल क्लब गठन गरिनेछ । उक्त क्लबले सबै विद्यालयमा रहेका क्बलहरूको नेतृत्व गर्नेछ ।