Thursday, April 16News That Matters

मानव अधिकार उल्लंघनकर्तालाई चुनावमा उम्मेद्वार नबनाउन आयोग खोटाङको आग्रह

खोटाङ, चैत १० । राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नं. १ शाखा कार्यालय खोटाङले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्तालाइ उम्मेद्वार नबनाउन आग्रह गरेको छ । आयोगले आफ्नो कार्यक्षेत्र खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरेर मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह गरेको हो ।

साथै आयोगले निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरिएको कार्यालयका प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । यस्तै निर्वाचन प्रचारप्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न, निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न पनि भनिएको छ ।

निर्वाचन आयोगबाट जारी आचारसंहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न आयोगको अनुरोध छ । निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन तीन वटा जिल्लाका सबै राजनितिक दलहरू, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षणकर्ता र मतदाता समेतलाई अनुरोध गर्दै निर्वाचन मानव अधिकारमैत्री वातावरणमा सम्पन्न हुने अपेक्षासमेत आयोगले गरेको छ ।