
खोटाङ, चैत १० । गठबन्धन आबद्ध दलले भोलि खोटाङको जन्तेढुंगा गाउँपालिकामा बन्द आह्वान गरेका छन् । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले निरङ्कुश गतिविधि गरेको भन्दै गठबन्धन आबद्ध दलले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द आह्वान गरेका हुन् ।
नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले २०७४ सालको स्थानीय तह निर्वाचनबाट गाउँपालिकामा बनेको एमाले सरकारले नयाँ ढंगको निर्वाचित निरंकुशता प्रदर्शन गरेकाले त्यसविरुद्ध भोलि बिहान १० बजे चिसापनी बजारमा विरोध प्रदर्शन गर्न लागिएको बताउनुभयो । उक्त सरकारले पाँच वर्षको अवधिमा इतर पार्टीका सामान्य मतदाता समेतलाई साधारण मजदुरीदेखि हरेक सेवा सुविधाबाट वञ्चित गराएको आरोप गठबन्धन दलले लगाएका छन् । आफ्नो दल आबद्धलाई मात्र उपभोक्ता समितिमा राखेर कमिसन माग्ने करारका कर्मचारी मार्फत घुसखोरी गरी चरम भ्रष्टचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधरण जनमानसलाई आतंकित बनाई रहने कार्य वर्तमान गाउँपालिका सरकारले गरेको गठबन्धनको ठहर छ ।
हिजो बेलुकी चिसापानी बजारस्थित एक होटलमा खाजा खाइरहेको अवस्थामा एमाले आबद्ध व्यक्तिहरूले कमिशन माग्दै राजनितिक ढंगले कुरा उठान गरेर नेपाली कांग्रेसका नेता देवराज बस्नेतमाथि सांघातिक आक्रमण गरेको गठबन्धन आबद्ध दलले बताएका छन् । आक्रमणबाट सख्त घाइते बस्नेतको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सामान्य उपचारपछि न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । ‘गाउँपालिकाको अनियमितता गरेर कमाएको रकमले नेकपा एमालेबाट पालित गुण्डागर्दीका विरुद्धमा यस पालिकामा रहेका आम जनता र जनतासँग जोडिएका राजनीतिक दल प्रतिरोध गर्न सक्षम रहेको जानकारी गराउँदै आम जनसमुदाय त्रास र भयमुक्त हुन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।गाउँपालिकामा नेकपा एमालेले गरेको निरंकुशता, ज्यादति र सांघातिक आक्रमणका विरुद्ध भोलि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाहेक सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघ संस्था बन्द गर्न आह्वान गरिएको छ ।
संयुक्त विज्ञप्तिमा कांग्रेस पालिका सभापति विष्ट, नेकपा माओवादी केन्द्र ६ नं. वडा कमिटी अध्यक्ष डिल्लीशेर राई, नेकपा एकीकृत समाजवादीका गाउँपालिका अध्यक्ष सुमन राई र जनता समाजवजादी पार्टीका गाउँपालिका अध्यक्ष सुक्रिम राईको हस्ताक्षर छ ।
