Thursday, April 16News That Matters

आदिवासी जनजाति महासंघ रावाबेसीको अध्यक्षमा मगर र सचिवमा राई चयन

रावाबेसीमा सम्पन्न महासंघको अधिवेशन कार्यक्रम

प्रेम श्रेष्ठ
खोटाङ, चैत १० । आदिवासी जनजाति महासंघ रावाबेसी गाउँपालिका गाउँसमितिमाको अध्यक्षमा राजन मगर र सचिवमा भविन राई चयन भएका छन् । महासंघको दोस्रो अधिवेशनले मगर र राईलाई सर्वसम्मत अध्यक्ष र सचिवमा चयन गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा चित्र बहादुर श्रेष्ठ, सह–सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा मनिला सुनुवारसँगै ९ जना सदस्य सर्वसम्मत चयन भएका छन् । बाकी अन्य सदस्य नवनिर्मित समितिले चयन गर्ने बताइएको छ ।

रावाबेसी गाउँसमितिका संयोजक शिवराज राईको अध्यक्षतामा बिहिबार भएकोे अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय पुर्व महासचिव आङकाजी शेर्पा र बिशेष अतिथिको रुपमा रावाबेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा रहनुभएको थियो । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समला राई, रावाबेसी गा.पा.–१ कुभिण्डेका वडा अध्यक्ष लिलानारायण श्रेष्ठ, हौँचुरका वडा अध्यक्ष यज्ञनारायण श्रेष्ठ, नेपाली कांग्रेस कुभिण्डेका वडा सभापति गेहेन्द्रमान राई, जनजाती महासंघ खोटाङका उपाध्यक्ष एल्वि मगर,सचिव उदिम चाम्लिङ राई, उपसचिव सौराज राई, किरात राई यायोक्खा केन्द्रिय सचिव दोर्णध्वज राई, नेपाल मगर संघ प्रदेश सदस्य राजन मगर, आदिवासी जनजाति अभियन्ता मोहन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

महासंघले ‘समानुपातिक समावेशिताको महत्व र स्थानीय तहमा हाम्रो भूमिका’ विषयमा गाउँपालिकाका सबै वडामा गोष्ठी समेत सञ्चालन गरेको छ । रावाबेसी गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी जनजाति महासंघ रावाबेसी गाउँ समितिको आयोजना गाउँपालिकाका ६ वटै वडामा एक दिने गोष्ठी सञ्चालन भएको हो । संविधान प्रदत्त समावेशिताको अधिकार र उक्त व्यवस्था कार्यान्वयनका लागि कसको के भूमिका छ भन्ने विषयमा गोष्ठीमा प्रशिक्षण दिइएको आदिवासी जनजाति महासंघ खोटाङका जिल्ला सचिज उदिम चाम्लिङले जानकारी दिनुभयो ।