Thursday, April 16News That Matters

रावाबेसी गाउँपालिका : नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य

 

राजकुमार भट्टराई(सरगम)
खोटाङ, चैत १० । खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रका नागरिकको नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुई वटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकको समस्या अन्त्य भएको हो ।

खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखान जस्तै भएको स्थानीय बताउँछन् । टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याएपनि अहिले गाउँपालिकावासीको मुहारमा खुशी छाएको छ ।

गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतिक्षा पश्चात टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । छ वटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा जाने गरेका थिए । तर, बुधबारबाट दुई वटा टावर सञ्चालनमा आएसँगै नागरिकको सास्ती हटेको अध्यक्ष निरौलाले बताउनुभयो ।

नागरिकसँगै गाउँपालिका कार्यालयका कर्मचारीलाई पनि उत्तिकै सास्ती थियो । गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा अतिआवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेकाले सेवा प्रवाहमा समेत समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताउनुभयो । यसअघि कोरोना भाइरसका कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाइन र फोनमार्फत पठनपाठनलाई निरन्तरता दिनुपर्ने बाध्यता भएपनि नेटवर्कको समस्याका कारण पठनपाठनमा समेत समस्या देखिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तीर्थराज दाहालको भनाइ छ । हाल टावर सञ्चालनमा आएसँगै यी यावत समस्याको अन्त्य भएको छ ।

टावर निर्माण कार्य समयमै सम्पन्न भएपनि कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण आवश्यक सामाग्री ढुवानीमा समस्या हुँदा टावर सञ्चालनमा ढिलाइ हुन पुगेको नेपाल टेलीकम कार्यालय खोटाङले बताएको छ ।