
खोटाङ, चैत ११ । हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
नगरपालिकाको ७ नम्बर वडा महादेवस्थानका बालिकाको नाममा खोलिएको खातामा जम्मा गरिदिएको रकमको भौचर आज नगरपालिकाले सम्बन्धित बालिकाका आमाहरुलाई हस्तान्तरण गरेको छ । भौचर बुझ्दै बालिकाका आमाहरुले नगरपालिकाको सानो कामले आफुहरुलाई ठुलो सहयोग पुग्ने बताएका छन् । नगरपालिकाले वार्षिक रुपमा ४ हजारका दरले तीन वर्षमा १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने आमाहरुको भनाई छ । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ ।
नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम अन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धित बालिकाहरूका आमालाई नगरपालिकाकी उपमेयर विमला राईले हस्तान्तरण गर्नुभएको हो । महादेवस्थानस्थित हलेसी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा भौचर हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर राईले छोरी जन्माएका आमालाई बधाइ दिँदै बालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । पितृसत्तात्मक सोचका कारण अभैm पनि समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ । उपमेयर राईले भन्नुभयो ‘छोरी जन्माएको भन्दै आमालाई परिवारले हेला गर्ने चलन अझै पनि समाजमा कायमै छ, त्यसैले छोरी जन्मिदा दुःखी हैन परिवार खुशी हुनु पर्छ भन्ने उद्धेश्यले यो कार्यक्रम सुरु गरिएको हो ।’
कार्यक्रम अन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले नियमित स्वास्थ्य जाँच गरेको र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । उपलब्ध प्रमाणका आधारमा वडाले रकम जम्मा गरिदिन नगरपालिकालाई सिफारिस गर्नेछ । वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा रकम जम्मा गरिदिनेछ ।
‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्या वृद्धि भएको उपमेयर राईले बताउनुभयो । यसबाट नगरपालिकामा मातृ तथा शिशु मृत्युदर र बालविवाहको दरसमेत घटेको उहाँको भनाइ छ ।
‘बालिका बचत’ कार्यक्रमअन्तर्गत छोरीको नाममा खाता खोलेर तीन वर्षको उमेर पुग्दासम्म किस्तागत रूपमा वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरेको छ । सालपा विकास बैंकको हलेसी शाखाले सो रकमको वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउने छ । बैंक खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले रकम जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत आफुले सकेको रु ५००/१००० रकम बचत गर्न सक्ने सालपा विकास बैंक हलेसी शाखाका प्रबन्धक भाष्कर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खाता खोलेको १० वर्षपछि नवीकरण गर्नुपर्नेछ ।
कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा खाता खोलेर रकम बचत भइसकेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अन्तर्गत हालसम्म ४६ जना बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको छ ।

