Thursday, April 16News That Matters

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

खोटाङ, चैत ११ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र इजाजत लिई राखेका हातहतियार आफूलाई पायक पर्ने नजिकैको प्रहरी इकाइमा यही चैत मसान्तसम्म बुझाइसक्न आग्रह गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले निश्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित वातावरण तयार गरी निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन आग्रह गरिएको बताउनुभयो । तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ । प्रहरीलाई बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि पुनः सम्बन्धित धनीलाई नै फिर्ता गरिने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले मानव अधिकार उल्लंघनकर्तालाई निर्वाचनमा उम्मेद्वार नबाउन खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका क्रियाशील राजनीतिक दललाई आग्रह गरेको छ । राजनीतिक दलहरूलाई पत्राचार नै गरेर मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह गरिएको कार्यालयका प्रमुख श्यामबाबु काफ्लेले बताउनुभयो ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा राष्ट्रिय मान्यता प्राप्तबाहेक १३ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनका लागि तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

स्थनाीय निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय खोटाङले म्यादी प्रहरीका लागि आवेदन लिइरहेको छ । कार्यलयमा आवेदन दिनेको दैनिक भीड लाग्ने गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो ।

निर्वाचन नजिकएसँगै जिल्लाका राजीनतिक दलहरूले चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन् ।