खोटाङ, चैत १६ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ८० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले आज कार्यक्रम नै आयोजना गरेर महिला र पुरुष गरी ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
७३ वर्षमाथिका पुरुष र ७० वर्ष माथिका महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको धितुङका वडाध्यष पृथ्वीराज राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाक मेयर इवन राई र उपमेयर विमला राईले दोसल्ला आढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।
सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसमेत गरिएको छ । स्वास्थ्य चौकी धितुङका स्वास्थ्यकर्मीलाई बोलाएर सम्मान कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकको रक्तचाप जाँच गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
दुर्छिममा महिलालाई बुटिक तालिम
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा महिलालाई बुटिक सम्बन्धी सीप विकास तालिम प्रदान गर्न थालिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको संयुक्त आयोजनामा एक महिने तालिम सुरु भएको हो । नवकिरण सेवा समाज, दुर्छिमको हलमा आजदेखि सुरु भएको तालिमको नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
तालिममा ११ जना महिला सहभागी रहेका र उनीहरूलाई महिलाले लगाउने साडीमा विभिन्न डिजाइनका आकर्षक बुट्टा भर्न सिकाइने नगरपालिकाका उद्यम विकास सहजकर्ता भिजन रानाले जानकारी दिनुभयो । तालिममा सहभागी महिलाहरूलाई आदर्श नेपाल, सामाखुशी काठमाडौँकी लिला गौतमले प्रशक्षिण दिइरहनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाई आर्थिक रूपमा आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिम दिँदै आएको छ ।



