Friday, April 17News That Matters

धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र र सम्पर्क वडा कार्यालय सञ्चालन

भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा लगायत

खोटाङ, चैत १६ । खोटाङको रावाबेसी गाउँपालिका–४ स्थित धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन निर्माण सम्पन्न पश्चात मंगलबार औपचारीक कार्यक्रममा बीच भवनको उद्घाटन भएसँगै आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो ।

स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै डुम्रेधारापानीको साविक ६,७,८ र ९ नम्बर वडाका नागरिकले अव आधारभुत स्वास्थ्य उपचारको सेवा घर नजिकबाट पाउने वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । वडाध्यक्ष पाण्डेले भन्नुभयो “ती साविका ४ वटा वडाका नागरिकलाई देउरालीमा रहेको डुम्रे स्वास्थ्य चौकी पुग्न २÷३ घण्टा हिड्नु पर्ने बाध्यता थियो । धारापानीमै स्वास्थ्य केन्द्र सञ्चालनमा आएपश्चात त्यहाँका करीब २ सय ५० घरपरिवारले अव घर नजिकैबाट स्वास्थ्य सेवा पाउने छन् ।”

यस्तै धारापानीमा आधारभुत स्वास्थ्य केन्द्रसँगै सम्पर्क वडा कार्यालय पनि खोलिएको छ । “वडा कार्यालय टाढा रहेकाले नागरिकले सामान्य सिफारीस लिन समेत दिनै माया मारेर हिड्नु पर्ने बाध्यता थियो । त्यसैले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर धारापानीमा सम्पर्क वडा कार्यालय खोलिएको छ । जहाँबाट सो क्षेत्रका नागरिकले सातामा २ दिन वडा कार्यालयले प्रदान गर्ने सेवा पाउने छन” वडाध्यक्ष पाण्डेले भन्नुभयो ।

स्वास्थ्य केन्द्रमा १ जना अहेव, १ जना अनमी र एक जना कार्यालय सहयोगी गरी तीन जना कर्मचारी रहनेछन् । स्वास्थ्य केन्द्र सञ्चालनका लागि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको संरक्षण र वडाध्यक्ष पाण्डेको अध्यक्षतामा समिति समेत गठन गरिएको छ । स्वास्थ्य मन्त्रलायबाट प्राप्त रु ३९ लाख बजेटमा आधारभुत स्वास्थ्य केन्द्रको ८ कोठाको दुई तले आरसिसि भवन निर्माण गरिएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । भवनको मंगलबार गाउँपालिका अध्यक्ष निरौलाले उद्घाटन गर्नुभएको छ । भवन निर्माणका लागि सोही ठाउँका सन्तोष राईले ९ आना जग्गा निशुल्क प्रदान गर्नुभएको हो ।

आधारभुत स्वास्थ्य केन्द्रको नव निर्मित भवन