Friday, April 17News That Matters

खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

बायाँबाट क्रमशः गाउँपालिका अध्यक्षहरू शालिकराम बञ्जारा, शंखरबहादुर राई, कृष्णकुमार राई र अर्जुनकुमार खड्का

खोटाङ, चैत १६ । नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिको महँगो चार पांग्रे गाडिमा मोह भएपनि केही जनप्रतिनिधिले गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङ जिल्लाका चार स्थानीय तहका जनप्रतिनिधिले चार पांग्रे गाडि खरिद गरेका छैनन् ।

गाडि खरिद नगर्ने स्थानीयतहहरुमा वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चार पांग्रे गाडी खरिद नगरेका जिल्लाका चार पालिकाका अध्यक्ष र उपाध्यक्षले मोटरसाइकल भने खरिद गरेका छन् । सेवा दिन नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरिएको उहाँहरूले बताउनुभएको छ ।

“एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपियो चढेर सान देखाउनुको अर्थ छैन,” वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा भन्नुहुन्छ, “म एक्लैले सुखसयल गरेर हुँदैन, गाउँपालिकाका जनता सुखी भए न जनप्रतिनिधि हुनुले मतलब राख्छ ।”

गाडी सुविधा मात्र नभई आफूले क्वार्टरसमेत नलिएको र कार्यकाल सकिएपछि आफूले बुझाउनुपर्ने एउटा मोबाइल र मोटरसाइकल मात्रै रहेको उहाँले बताउनुभयो । वराहपोखरी गाउँपालिकामा जनप्रतिनिधिका लागि चार पांग्रे गाडी किन्ने रकम एम्बुलेन्स र जेसीबी खरिदमा खर्च गरिएको छ ।

जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले जनप्रतिनिधिले आफ्नोभन्दा जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “हामी जनप्रतिनिधिहरूले सुविधाभोगी हुनुभन्दा जनतालाई सुविधा दिनुपर्छ । हामीले जनताकै लागि भनेर गाडी किन्ने रकमले जेसीबी खरिद गरेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “बर्खा याममा अघिअघि जेसीबी गएर बिग्रे भत्केको सडक मर्मत गर्छ । पछिपछि बिरामी बोकेर एम्बुलेन्स वंशिलाघाट हुँदै धरान, विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्छ । यसरी थुप्रै ज्यान जोखिममा परेका नागरिकलाई हामीले बचाएका छौँ ।” जन्तेढुंगा गाउँपालिकालाई एम्बुलेन्स भने भारतीय भूतपूर्व सैनिक संस्थाले प्रदान गरेको छ ।

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले पनि जनप्रतिनिधिका लागि चार पांग्रे गाडी किन्ने रकम एम्बुलेन्स खरिदमा खर्च गरिएको बताउनुभयो । “जनताको जीवनस्तर कहाँ छ, त्यो कुरालाई प्राथमिकतामा राख्नुपर्यो नि,” खड्काले भन्नुभयो, “गाडी किन्ने पैसा एम्बुलेन्स खरिद र गाउँपालिकाको विकास निर्माणमा लगानी गर्यौँ ।”

केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले आफ्नो सुविधाका लागि नभई जनताको सेवाका लागि आफू निर्वाचित भएको बताउनुभयो । केपिलासगढी गाउँपालिकामा गाडी खरिदमा खर्च हुने रकम केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने तापखोलामा मोटरेबल पक्की पुल निर्माणका लागि खर्च गरिएको अध्यक्ष राईले बताउनुभयो ।