Friday, April 17News That Matters

३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार मतदाता बढे

फाइल तस्वीर

पवन खड्का
खोटाङ, चैत १५ । करिब ३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार बढी मतदाता बढेका छन् । केन्द्रीय तथ्यांक विभागले माघ अन्तिम साता सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले पछिल्लो दश वर्षमा जिल्लाको जनसंख्या ३० हजार ९ सय ७२ ले घटेको देखाएको थियो । २०६८ को जनगणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको जिल्लामा २०७८ को जनगणनाले १ लाख ७५ हजार ३ सय ४० मात्र रहेको देखाएको छ ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदानमा भाग लिन पाउने भएका छन् । जिल्लाका ७५ हजार ६ जना पुरुष र ६८ हजार ७ सय ४६ जना महिलाले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख १५ हजार ६ सय ४२ जना मतदाता थिए । यस आधारमा जिल्लामा पछिल्लो पाँच वर्षमा २८ हजार १ सय १० जना मतदाता बढेको देखिन्छ ।

आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४ सय ९५, केपिलासगढी गाउँपालिकामा १० हजार ८ सय ३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २ सय ४५, जन्तेढुंगा गाउँपालिकामा १० हजार २ सय १३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ४ सय ३१ मतदाता छन् । यस्तै वराहपोखरी गाउँपालिकामा ९ हजार ३ सय ६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा ९ हजार ६ सय १८, साकेला गाउँपालिकामा ८ हजार ५ सय ४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९ सय २१ मतदाता कायम भएको आयोगले जनाएको छ ।

१ सय ३६ मतदान स्थल र १ सय ९४ मतदान केन्द्र
आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १ सय ३६ मतदान स्थल र १ सय ९४ मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ऐँसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, जन्तेढुंगा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र तोकेको छ ।

यस्तै वराहपोखरी गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिए

स्थानीय तहको निर्वाचनका लागि खोटाङको मुख्य निर्वाचन अधिकृतमा खोटाङका जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य नियुक्त हुनुभएको छ । निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । जसअन्तर्गत जिल्ला अदालत खोटाङमा कार्यरत न्यायाधीश आचार्यलाई जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । उहाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खटिने गरी मुख्य निर्वाचन अधिकृतमा नियुक्त हुनुभएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय खोटाङमा कार्यरत जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने ढुंगेल निर्वाचन अधिकृतमा नियुुक्त हुनुभएको छ । ऐँसेलुखर्क गाउँपालिकामा खोटाङ जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखु काठमाडौँमा कार्यरत उपसचिव राजकुमार राई, खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

जन्तेढुंगा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौँका उपसचिव मानबहादुर मगर, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे वराहपोखरी गाउँपालिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश १ विराटनगरकी उपसचिव कोपिला राई निर्वाचन अधिकृत नियुक्त हुनुभएको छ । रावाबेँसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्की र साकेला गाउँपालिकामा नेपाल कानुन आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको छ ।

१३ दल दर्ता
स्थानीय तह निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिह्न लिन दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा खोटाङमा क्रियाशील रहेका १३ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

राईका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु पर्दैन । राष्ट्रिय मान्यता प्राप्तबाहेकका १३ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

दल दर्ता गराउनेमा किरात खुम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । यस्तै जनसमाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले दल दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्यादी प्रहरी बन्न दोब्बरको आवेदन
स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरी बन्न खोटाङमा २ हजार २ सय ९४ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा दरखास्त मागिएकोभन्दा दोब्बरको आवेदन परेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म ११ सय ४७ जनाको आवेदन दिन आह्वान गरेको थियो । उक्त अवधिमा २ हजार २ सय ९४ जनाले आवेदन दिएका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । म्यादी प्रहरी भर्नाका लागि जिल्ला प्रहरी कार्यालयले मंगलबारट छनोटसमेत प्रारम्भ गरेको छ ।