
प्रेम श्रेष्ठ
खोटाङ, चैत १७ । रावाबेसी गाउँपालिकाका दुई वटा वडामा महिनाको दुई दिन सञ्चालन हुने गरी (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको छ । गाउँपालिकाको आयोजना र खार्पा थुम्की आयुर्वेद औषधालयको संयोजनमा वडा नम्बर–५ दुबेकोल र ६ हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको हो ।
पहिलो दिन चैत १५ गते दुबेकोलबाट कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै दोस्रो दिन चैत १६ गते हिजो हौँचुरमा सो कार्यक्रम सञ्चालन भएको छ । अव प्रत्येक महिनाको १५ र २९ गते दुवेकोलमा, १६ र ३० गते हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम)ले त्यहाँका नागरिकलाई सेवा दिने हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
(नागरिक आरोग्य सेवा कार्यक्रम) अन्तरगत योग तथा स्वास्थ्य परामर्शसँगै बिभिन्न रोगहरुको आयुर्वेदिक औषधि निशुल्क प्रदान गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

