Friday, April 17News That Matters

देश विकास गर्ने पार्टी एमाले मात्र हो : एमाले अध्यक्ष ओली

हलेसी मन्दिरमा अध्यक्ष ओली, उपाध्यक्ष बादल लगायत

खोटाङ, चैत १९ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ । नेकपा एमाले खोटाङले सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शनिबार जिल्ला आउनुभएका ओलीले सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

बृद्धबृद्धादेखि केटाकेटी सम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने उहाँको दावी छ । अध्यक्ष ओलीले भन्नुभयो “नेपालमा सामाजिक सुरक्षा भत्ता दिन नेकपा एमालेले सुरु गरेको हो, कर्मचारीको तलब बृद्धि गर्ने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरीब सम्झीने पार्टी भनेको एमाले मात्रै हो ।” समृद्ध नेपाल निर्माण गर्दैगर्दा अव सरकार सधै एमालेले मात्र बनाउने भयो भनेर बिरोधीहरुले जालझेल गरेर सरकारबाट आफुलाई हटाएको उहाँको दावी छ । तर, देशै भरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर्माण गर्ने उहाँको भनाइ छ । वि.स. २०५१/५२ सालमा पनि अदालतले एमालेको सरकार ढालेको तर पुनः एमाले जनताको मतले सरकारमा आएजस्तै अव पनि एमालेलाई जनताले सरकारमा ल्याउने अध्यक्ष ओलीले बताउनुभयो । यस्तै अहिले खोटाङ जिल्ला एमालेको किल्ला रहेको र आगामि दिनमा पनि रहिरहने उहाँको भनाइ ।

हेलीकप्टर चडेर सवा १२ बजे खोटाङको हलेसीमा धर्मपत्नी राधिका शाक्य साथै एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री राम बहादुर थापा, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतासँग ओली आउनु भएको थियो । हेलीकप्टरबाट उत्रनेबित्तिकै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिरको दर्शन गर्नुभयो ।

मन्दिरको दर्शन पश्चात पत्रकार सम्मेलनमा हलेसीको विकासकोलागि गुरु योजना आफ्नो कार्यकालमा निर्माण गरिएको र अव त्यसको कार्यन्वयनकालागि पनि एमालेले सहयोग गर्ने उहाँले बताउनुभएको छ । हलेसी मन्दिर व्यवस्थापन एवं प्रवद्र्धनकाकालागि परिवारको तर्फबाट अध्यक्ष ओलीले दुई लाख नगद समेत सहयोग गर्नुभयो ।

हलेसीबाट सदरकुमाम दिक्तेल जनसभालाई सम्बोधन गर्न जानुभएका ओली मौसम खराबीका कारण छोटो समय सम्बोधन गरेर काठमाण्डौ फर्किनुभएको छ ।

दिक्तेलमा आयोजित जनसभा