
खोटाङ, चैत २० । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र वडा नं. ३ काहुलेमा एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।काहुलेको हुमापोखरीमा रहेको नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक हप्ताभन्दा बढी समयदेखि उक्त क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएको नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले बताउनुभयो ।
“नेटवर्क नहुँदा एक हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा फोन नलाग्ने समस्या छ,” विष्टले भन्नुभयो, “खासगरी बोपुङ र काहुले प्रत्यक्ष प्रभावित भएका छन् ।” सञ्चार जस्तो अत्यावश्यकीय सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ढिला गरिरहेको विष्टको भनाइ छ ।
यता नेपाल दूरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले भने टावर मर्मतका लागि प्राविधिकको टोली खटाइसकिएको बताउनुभयो । समस्याको कारण पत्ता लगाई प्राविधिकको टोलीले चाँडै समाधान गर्ने उहाँको भनाइ छ ।
