खोटाङ, चैत २१ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ । चैत १ गते देखि १८ गते सम्मको अवधिमा ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको छ ।
संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको छ । बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो ।
यस्तै धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङले १ तोलाको सुनको दियो र ३ तोला ८७ लालको चाँदीको प्लेट, बुद्धनगर नगरपालिका–१० कपन, काठमाडौं निवासी कान्छा तामाङले २५.१० तोलाको बिस्कुट आकारको १ थान चाँदी चढाउनुभएको छ ।
दर्शनार्थी तथा पर्यटकले यस अवधिमा भा.रु. ३ हजार ४ सय, अमेरिकन डलर १, चाँदी १४.६५ तोला, सुन ०.०५९ तोला चढाएका पनि सूचना केन्द्रले जनाएको छ ।
