
पवन खड्का
खोटाङ, २१ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.०१–०५–००१ ख ००२१ नम्बरको बस आइतबार गाउँपालिकाको वडा नं. ५, चिसापानी बजार पुगेको हो ।
उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलोपटक उक्त स्थानमा बस पु-याउनुभएको हो । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र सहचालक पर्शुराम श्रेष्ठलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए ।
जन्तेढुंगा गाउँपालिकाको २१ लख बजेटमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाना सावाखोलादेखि चिसापानीसम्म सडकको ट्रयाक खोलिएपछि चिसापानीमा बस आएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो ।
तत्काल नियमित सञ्चालन भने नहुने
चिसापानीमा पहिलोपटक बस पुगेको भए पनि तत्काल नियमित सञ्चालन भने हुने छैन । आगामी वैशाखदेखि भने चिसापानी बजारबाट वराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिमाना सुनकोशी नदीस्थित वंशिलाघाटसम्म बस सेवा सञ्चालन गर्ने तयारी भइरहेको खोटाङ यातायात प्रा.लि.ले जनाएको छ । चिसापानीबाट वंशिलाघाटसम्म बस सञ्चालन हुँदा जन्तेढुंगा गाउँपालिकावासीलाई पूर्वी तराईका जिल्ला आवातजावत र दैनिक उभोग्य सामग्री ढुवानीमा सहज हुुनेछ ।
वंशिलाघाट खोटाङको दक्षिणी क्षेत्रका विकट मानिने वराहपोखरी र जन्तेढुंगा गाउँपालिकालाई पूर्वी तराईसँग जोड्ने मुख्य नाका हो । पक्की पुल नहुँदा खोटाङ र उदयपुर दुवैतिर सडक निर्माण भएको लामो समय बितिसक्दा पनि दुईतर्फी सवारी साधन सञ्चालन हुन सकेको छैन । केही समयअघि सत्तारूढ गठबन्धनमा आबद्ध दलले उक्त स्थानमा फेरी वा बेलिब्रिज राख्न प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसमक्ष माग गरेका थिए ।
