Thursday, April 16News That Matters

हलेसी तुवाचुङका ८ हजार ६ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

फाइल तस्वीर

–पवित्रा कार्की
खोटाङ, चैत २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ८ हजार ६ सय जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । त्यसका लागि नगरपालिकामा चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।

यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ । खोप लगाउनका लागि नगरपालिकामा ९९ वटा खोप केन्द्र निर्धारण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

नगर खोप समन्वय समितिको शुक्रबार बसेको बैठकले खोप लगाउनका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । उपमेयर विमला राईको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । चाँडै वडा खोप समन्वय समितिको पनि बैठक बसेर थप निर्णय गरेपछि चैत २९ गतेदेखि खोप लगाउन सुरु गरिने घिमिरेले बताउनुभयो ।

हाँका अनुसार अब प्रत्येक महिनामा एकपटक १५ महिना पुगेका बालबालिकालाई नियमित खोप लगाइनेछ । यसरी मासिक रूपमा लगाइने खोप अहिले सञ्चालन हुन लागेको खोप अभियानमा सहभागी बालबालिकालाई नभई यो अभियानमा खोप लगाउने उमेर नपुगेका बालबालिकालाई लगाइनेछ ।