
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा एक सय जना अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल बनेको छ । गाउँपालिकाले ७६ लाख ८२ हजार ९ सय ८२ रुपैयाँको ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले ४७ लाख ७६ हजार ८ सय ८ रुपैयाँमा गाउँपालिकाको सभाहल निर्माण गरेको हो ।
चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर सभाहल गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सभाहलको शुक्रबार गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
सभाहलमा दुई वटा स्टोर रूमसमेत निर्माण गरिएको छ भने सभाहलबाहिर तीन वटा हात धुने धारा पनि जडान गरिएको छ ।
सभाहल उद्घाटनसँगै शुक्रबार नै गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को विशेष गाउँसभासमेत बसेको छ । गाउँसभाले यसअघि कार्यपालिकाले गरेका विभिन्न निर्णय अनुमोदन गरेको छ ।



