
-पवन खड्का
खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो ।
लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।
“चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका किसानलाई भण्डारणको ठूलो समस्या थियो,” राईले भन्नुभयो, “यसअघि किसानले बिक्री गर्न ल्याएका कृषि उपजहरू बिक्री नहुँदा सडेर जान्थ्यो । हटिया उठ्न लागेपछि सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो । कति त फिर्ता लिएर जानुपथ्र्यो । अब त्यो समस्या हुँदैन ।”
एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्रमा एकैपटक ३० टन कृषि उपज भण्डारण गरेर सुुरक्षित राख्न सकिनेछ । चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राखिने राईले बताउनुभयो । भण्डारण गरेर राखिएका हरियो तरकारी एक हप्तादेखि एक महिनासम्म र फलफुल ४ देखि ६ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको वडाले रेखदेख गर्नेछ । कार्यविधि निर्माण गरी केही समयपछि एक उत्कृष्ट कृषक समूह छनोट गरेर सञ्चालनको जिम्मा दिइनेछ । कृषक समूहले किसानका कृषि उपज भण्डारण गरे बापत मासिक रूपमा नगरपालिकालाई भाडा बुझाउनेछ ।





