
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले प्रयोग गर्दै आउनुभएको सरकारी सुविधाको गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडीको चाबी शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष निरौलाले बा २ झ ३४९६ को स्कारपियो र उपाध्यक्ष भुजेलले बा २ झ ४३९४ नम्बरको बोलेरो चढ्दै आउनुभएको थियो । कार्यकाल सकिन अढाइ महिना बाँकी रहँदै अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले गाडी फिर्ता गर्नुभएको हो । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुने भएसँगै गत निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचवर्षे कार्यकाल भने पूरा गर्न नपाउने भएका छन् ।
निर्वाचन घोषणा भएको र आचरसंहिता पनि लागू भएकाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेको अध्यक्ष निरौलाले बताउनुभयो । निर्वाचनको समयमा सरकारी गाडीलाई दुरुपयोग हुनबाट जोगाउन आफूले यस्तो कदम चालेको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेल जिल्लामै गाडी फिर्ता गर्ने पहिलो जनप्रतिनिधि हुनुुहुुन्छ । निर्वाचन आचारसंहिता लागू भइसक्दा पनि जिल्लाका अन्य पालिकाका जनप्रनिधिले भने गाडी फिर्ता गरेको जानकारी आएको छैन । । निर्वाचन आाचारसंहिता शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुँदैछ ।
जिल्लाको वराहपोखरी, जन्तेढुंगा, केपिलासगढी र साकेला गाउँपालिकाका जनप्रतिनिधिले भने आफ्नो पाँचवर्षे कार्यकाल चारपांग्रे गाडी खरिद नगरी बिताएका छन् । उनीहरूले चारपांग्रे गाडी किन्ने रकम पालिकाको विकास निर्माणमा खर्च गरेका छन् । यी पालिकाका जनप्रतिनिधिले मोटरसाइकल भने खरिद गरेका छन् ।
