Thursday, April 16News That Matters

हलेसी तुवाचुङ : महिलाको अवस्था फेर्दै ‘बिउ पूँजी घुम्ती कोष’

आमा समूहलाई कार्यक्रम बापत प्राप्त हुने रकमको बैंक चेक हस्तान्तरण गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई

–पवन खड्का
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको महिला आमा समूह लक्षित बिउ पूँजी घुम्ती कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ बाट कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । कार्यक्रममा सहभागी महिला आमा समूहले कार्यक्रम बापत नगरपालिकाबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्दा महिलाको विगतको आर्थिक अवस्थामा सुधार आएको हो ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रस्ताव आह्वान गरेर छनोट भएका महिला आमा समूहलाई द्विपक्षीय सम्झौतापछि प्रतिसमूह १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने गरेको छ । हालसम्म नगरपालिकाका ३५ वटा आमा समूहले कार्यक्रम बापतको रकम पाएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा १५ र चालु आर्थिक वर्ष २०७८/०७९ मा २० वटा आमा समूह कार्यक्रममा समेटिएका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख इरन राईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा कार्यक्रमका लागि छनोट भएका २० वटा आमा समूहलाई बुधबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कार्यक्रम बापत प्राप्त हुने रकमको बैंक चेक हस्तान्तरण गरिएको छ । नगरपालिकाकी उपमेयर विमला राईले कार्यक्रमका लागि छनोट भएका आमा समूहका प्रतिनिधिलाई प्रतिसमूूह १ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरणअघि कार्यक्रममा बोल्दै उपमेयर राईले कार्यक्रमको नाम नै बिउ पूँजी घुम्ती कोष रहेको र उत्पादनमा बिउको भूमिका महत्त्वपूर्ण रहेकाले प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्न आग्रह गर्नुभयो । मानो रोपेर मुरी अन्न फलाएजस्तै उत्पादनमूलक कार्यमा रकम खर्च गरी आमा समूहको पूँजी वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । प्राप्त रकमलाई महिलाहरूले दिगो आम्दानीको रूपमा विकास गर्न सक्ने उहाँको भनाइ थियो ।

नगरपालिकाले महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । महिलाकै लागि भनेर स्थापना भएका केही आमा समूह र सहकारी संस्थाहरूले नगरपालिकाबाट प्राप्त भएको बजेटले आफ्नै भवनसमेत बनाएका उहाँले बताउनुुभयो ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोरकुमार बस्नेतले रकमलाई सही ठाउँमा लगानी गर्न सके यसले महिलाहरूको आर्थिक संकट समाधानमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतले कार्यक्रमको रकम १ लाखलाई मामुली नठानेर उत्पादनमुखी काममा लगानी गर्दा त्यसबाट प्राप्त हुने सफलतामा ध्यान दिन आग्रह गर्नुभयो ।

यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्यले नगरपालिकाबाट आमा समूहलाई प्राप्त रकम सही काममा लगाएर सदुपयोग गर्न आग्रह गर्नुभयो । आर्थिक कारोबार सधैँ मितव्ययी र पारदर्शी हुनपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा उपस्थित महिला आमा समूहका पदाधिकारीहरूले नगरपालिकाको यस कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । गत आर्थिक वर्षमा कार्यक्रमको सुविधा पाएका आमा समूहका पदाधिकारीले कार्यक्रम बापत प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्दा त्यसले राम्रो प्रतिफल दिएको बताएका छन् । आमा समूहलाई प्राप्त उक्त रकम ब्याजमा लिएका कतिपय समूहका सदस्यले बाख्रा तथा बंगुरपालन गरेर राम्रो आम्दानी गरेको उनीहरूको भनाइ थियो ।

के छन् कार्यक्रमका शर्त ?
कार्यक्रममा छनोट भएका आमा समूहलाई नगरपालिकाले सशर्त द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि मात्र रकम प्रदान गर्छ । रकम प्राप्त गर्न समूहले नगरपालिकालाई बैंक खाता नं. अनिवार्य उपलब्ध गराउनुपर्छ । कार्यक्रमको सुविधा पाएका आमा समूहले अनुत्पादक क्षेत्रमा रकम खर्च गर्न र सदस्यहरूबीच बाँडफाँड गर्न पाउँदैनन् ।

बिउ पूँजीको रकम आमा समूहको बैंक खातामा जगेडा राखी परिचालन गरिरहनुपर्छ । बिउ पूँजी परिचालनका लागि आमा समूहले कर्जा समिति गठन गर्नुपर्ने, कुनै ऋणी सदस्यबाट नियम विपरीत कार्य भए कोष परिचालन नीतिमा व्यवस्था भए अनुसार दण्ड जरिवाना गरी यथाशीघ्र ऋण असुल गर्नुपर्ने, समूहका सदस्यभित्र मात्र बिउ पूँजी परिचालन गर्न पाइने शर्तहरू सम्झौतामा छन् ।

यस्तै उत्पादनमूलक व्यवसायलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने, समूहका कुनै एक सदस्यले एक वर्ष बिउ पूँजीको रकम चलाएपछि अर्को सदस्यलाई दिनुपर्ने, बिउ पूँजी बापतको रकमबाट समूहका सदस्यहरूमा ऋण प्रवाह गर्दा बैंकले लिने ब्याजभन्दा कम पर्ने गरी गर्नुपर्ने शर्त राखिएको छ । सम्झौताका शर्तहरू उल्लंघन गरेमा बिचैमा सम्झौता भंग हुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोरकुमार बस्नेत
कार्यक्रमलाई सम्बोधन गर्दै हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउत
कार्यक्रमपछिको सामूहिक तस्वीर