खोटाङ, चैत २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् ।
तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकको एउटा वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताउनुभयो ।
यस्तै हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिल्भरको गाग्री पूर्ण रूपमा क्षति भएको पाइएको छ ।
वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदै आएको छ ।
तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
