
खोटाङ, चैत २२ । रावाबेँसी गाउँपालिका खोटाङको आर्थिक सहयोगमा रावाबेँसी खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक पुरस्कार राशिको अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रावाबेँसी ‘ए’ ले जितेको छ । मंगलबार रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी आधारभूत विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा ऐँसेलुखर्क ‘बी’ लाई पराजित गर्दै रावाबेँसी ‘ए’ ले प्रतियोगिताको उपाधि जितेको हो ।
उपाधि विजेता रावाबेँसी ‘ए’ ले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फाइनलमा रावाबेँसी ‘ए’ सँग पराजित भएर उपविजेतामा सीमित बनेको ऐँसेलुखर्क ‘बी’ ले नगद रु. ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थान खोटेहाङले हासिल गरेको छ । मंगलबार नै भएको खेलमा ऐँसेलुखर्क ‘ए’ लाई हराउँदै खोटेहाङले तेस्रो स्थान हासिल गरेको हो । उसले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना भएको ऐँसेलुखर्क ‘ए’ ले नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै विधागततर्फ रोशन विक उत्कृष्ट खेलाडी, अमोद रिजाल उत्कृष्ट सेटर, लोकेन्द्र प्रधान उत्कृष्ट स्पाइकर, रचन गुरुङ उत्कृष्ट ब्लकर, योगेश राई उत्कृष्ट लिब्रो, झमक मगर उत्कृष्ट सर्भर र एसिया राजभण्डारी अनुशासित खेलाडी घोषित भए । उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुने समूह तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरूलाई रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई र ६ वटै वडाका वडाध्यक्षहरूले पुरस्कार वितरण गरेका थिए ।
*यसअघि भुलवश ‘तेस्रो स्थान ऐँसेलुखर्क ‘ए’ ले हासिल गरेको’ भन्ने हुन गएकोमा सच्याइएको छ ।









