Friday, April 17News That Matters

आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव

खोटाङ, चैत २२ । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटनाबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । सुक्खा र हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले आग्रह गरेको हो ।

आगलाागी हुन नदिन प्रहरीले विभिन्न उपायसमेत सुझाएको छ । बालबालिकाहरूले भेट्न सक्ने स्थानहरूमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्ण रूपमा निभाउन, ग्याँस सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न अनुरोध गरिएको छ ।

सुत्ने बेला ओछ्यानमा धूूमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थहरू मट्टिटेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्टै उपयुक्त भाडोमा राम्रोसँग बिर्को बन्द गरेर राख्न प्रहरीको अनुरोध छ ।

हावा चलिरहेको समयमा खुल्ला स्थानमा आगो नबाल्न र बारी, बाटो आदि स्थानहरूमा बलिरहेको आगो पूर्ण रूपमा तुरुन्तै निभाउन, घर वा कार्यालयमा रहेका विद्युतीय उपकरणहरू सही अवस्थामा भए नभएको नियमित जाँच गर्न, राति गाउँघरमा हिँड्दा राँकोको सट्टा टर्चलाइटको प्रयोग गर्ने बानी बसाल्न र शरीरमा आगो सल्किए भागदौड नगरी भुइँमा सुतेर लडीबुडी गर्न प्रहरीले सुझाव दिएको छ ।

यस्तै आकस्मिक आगालगीको पूर्व तयारीस्वरूप आफ्नो मोबाइल वा घरको टेलिफोन सम्पर्क सूचीमा दमकल, पानी ट्याङ्कर, एम्बुलेन्स तथा प्रहरीको फोन नम्बर सेभ गरेर राख्न, आगलागी नियन्त्रणका लागि घर, अफिस तथा सवारी साधनमा अग्नि संयन्त्र अनिवार्य रूपमा राख्न सुझाव दिइएको छ ।

आगो निभाउने यन्त्र वा दमकल नभएको ठाउँमा आगो निभाउने स्थानीय साधनहरू पानी, हरियो स्याउला, केराको पात, बोक्राहरू, बालुवा, माटो आदि जुटाएर राख्न, आगो कोठाभित्र लागेको छ र नियन्त्रण गर्न सम्भव छैन भने कोठाको ढोका बन्द गर्न, पेट्रोल, मट्टिटेलबाट लागेको आगोलाई पानीले निभाउन खोजेमा झनै फैलिने भएकोले बालुवा, माटो, हरियो स्याउला लगायतको प्रयोग गर्न सकिने प्रहरीको सुझाव छ ।

मुलुकी अपराध संहिताको दफा २८५ मा कसैको लापरबाहीले आगो लाग्न गई सार्वजानिक तथा सरकारी सम्पत्तिमा क्षति हुन गएमा ५ देखि १२ वर्षसम्म कैद र बिगो बराबर जरिवाना हुने साथै कसैको व्यक्तिगत सम्पत्तिमा क्षति पुग्न गएमा २ देखि ५ वर्ष र्कैद र २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको पनि जिल्ला प्रहरी कार्यालय खोटाङले स्मरण गराएको छ ।