
खोटाङ, चैत ३० । त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा झण्डै ७ लाख रुपैयाँ भेटी संकलन भएको छ । १९ देखि २८ चैतसम्म मन्दिर दर्शन तथा अवलकोनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ६ लाख ७२ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ४ लाख ६८ हजार २ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ८० हजार ९ सय ५०, बसाहा गुफाको दानपेटिकाबाट ९३ हजार ९ सय ८० रुपैयाँ भेटी संकलन भएको छ । यस्तै शिवरात्री र रामनवमी मेलामा चढाइएको चामल बिक्रीबाट २५ हजार २ सय र ढ्याक्के सटहीबाट ३ हजार ९ सय रुपैयाँ संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।
भेटीबापतको आम्दानीबाट विद्युत र पानीको महसुल, नौमती बाजा बजाउँदा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीको तलबभत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा गरी. १ लाख ३ हजार ५ सय ३७ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ५ लाख ६८ हजार ६ सय ९३ रुपैयाँ माछापुच्छ्रे बैङ्क हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।
यस्तै यस अवधिमा दर्शनार्थी तथा पर्यटकले भा.रु. ६ हजार, चाँदी ७.५ तोला, सुन ०.०६४ तोला चढाएका सूचना केन्द्रको आय–व्यय विवरणमा उल्लेख छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरको दर्शन गर्नाले चिताएको पूरा हुने जनविश्वास छ । कोरोनाले लामो समय प्रभावित बनेको हलेसी मन्दिरमा पछिल्लो समय दर्शनार्थी तथा पर्यटकको आगमन बढेको छ । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेर यसलाई विकास गर्ने काम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।
